आज जुन ३ तारिक, अर्थात 'बिश्व साइकल दिवस' । सन् २०१८ देखि UN ले जुन ३ लाई ‘बिश्व साइकल दिवस’ को रुपमा मनाउदै आइरहेको छ । २०० बर्ष देखि मान्छेलाई साथ दिई रहेको दुई चक्के साधन साइकल, सबै भन्दा सरल, सस्तो, स्वस्थकर, वातावरण मैत्री यातायातको मध्यम हो । यहि विशेषताले गर्दा धेरै विकसित मुलकहरुमा हाल आएर साइकल संस्कृतिको विकास गर्न विभिन्न साइकल मैत्री पूर्वाधारमा लगानी गर्ने लहर बढ्दै गएको देख्न सक्छौ । यसको उधाहरण हेर्न विकशित युरोपेली मुलुक होइन हाम्रै छिमेकी राष्ट्रहरु भारत र चीन हेरे हुन्छ । चीनमा साइकल साझेदार (Bike Sharing) मोडेलवाट साइकल संस्कृतिले पुनागरमण गर्दै छ भने हालै मात्र भारतको राजधानी दिल्लीको भित्री वस्तीहरुमा बढ्दो यातायातको चाप कम गर्न यहि बाईक सेरिंग मोडेल सुरु गरिएको छ ।
साइकल संस्कृति
अहिलेको अवस्थामा साइकल संस्कृतिको विकाश वैकल्पिक सोच होइन समयको आवस्यकताको रुपमा लिन सकिन्छ । तर हामी जस्तो अविकसित मुलुक जसको वार्षिक प्रति व्यक्ति आय १००० डलरको हाराहारी रहेको छ, त्यहाँ हामीले साइकल संस्कृति विकास र सार्वजनिक यातायातलाई प्राथमिकतामा राख्न कोशिस गरेनौ र गर्दैनौ पनि ।
निजि इन्धनको गाडीलाई हामी व्यक्तिगत समृद्धि र प्रतिस्था संग जोद्छौँ । अविकसित मुलुकको नागरिक भएर हामीलाई साइकल चढ्न लाज लाग्छ, अल्छि लाग्छ । हामी यस्तो समाजको निर्माण गर्दैछौ जसमा एउटा कलेज पढ्ने विद्यार्थीले बाईकको सपना बोक्छ भने अलि आय(आर्जन गर्नेले गाडीको चाहना गर्छ । यो स्वभाभिक प्रवृत्ति होइन, यो राज्यको सार्वजनिक यातायात व्यवस्थामा कमजोरी र साइकल पूर्वाधारमा कम प्राथमिकता राख्नुको परिमाण हो ।
साइकल र अर्थतन्त्र
हामी साइकललाई कर नतिर्ने साधन भनेर हेला गर्छौं । गाडीको लागि ६ लेनको रिंग रोड बनाऊछौँ तर त्यसमा सार्वजनिक यातायात सहज पर्ने द्यच्त्, साइकल लेन र पैदलयात्री मैत्री पूर्वाधार समेट्न चुक्छौ । भन्सार विभागको पछिल्लो १० महिनाको तथ्यांकलाई हेर्ने हो भने नेपालले पेट्रोल र डिजेल आयातमा मात्र १ खर्ब २४ अर्ब खर्च गर्छ जबकी यहि समयमा हार्मो कुल निर्यात ७८ अर्बको मात्र छ । हामी हरेक १०० डलरको निर्यात गर्दा १५७।९ डलर पेट्रोल र डिजेल मात्र आयत गर्न बाहिर पठाऊछौँ । २०७२ को भारतीय नाकाबन्दी सम्झिने जो कोहीलाई थाहा छ साइकल आत्मनिर्भर अर्थतन्त्र र समाजको प्रतिबिम्भ गर्ने प्रमुख यातायातको माध्यम हो ।
सहर र बायु प्रदुषण
काठमाडौँको औशत वायु प्रदुषण स्तर (PM 2.5) हेर्ने हो भने ४९ माइक्रो ग्राम रहेको छ जुन WHO को मापदण्ड २५ माइक्रो ग्राम भन्दा दोब्बर छ । हामी वायु प्रदुषण रहित सहरको चाहना गर्छु तर प्रदुषणबाट बच्न गाडीको ए।सी मा हिड्ने सपना देख्छौं । इन्धन युक्त गाडीको संख्या साथसाथै बायु प्रदुषण पनि बढ्दै छ । वायु र ध्वनी प्रदुषण नगर्ने साइकल यात्रीहरु साचैंनै समाजका सम्मान पात्र हुन् र उनीहरुलाई प्रोत्साहन गर्नलाई मात्र पनि साइकल पूर्वाधारमा लगानी गर्न जरुरी छ ।
स्वास्थको लागि साइकल
साइकल चलाउन अवस्य पनि गाह्रो छ तर हामीले के भुल्न हुन्न भने स्वस्थ जीवनको लागि शारीरिक सक्रियता अत्यन्त आवस्यक चिज हो । साइकल हरेक उमेरको वा हरेक प्रकारको यात्राको लागि उपयुक्त नहोला तर कलेज जाने विद्यार्थीले बाईक चलाउनु, छोटो दुरीको यात्राको लागि गाडी र बाईकमा निर्भर हुनु स्वस्थ समाजको परिचय होइन । हामीमा बिलाशिताको संस्कृति हावी भरहेको छ । मुटुरोग,मधुमेह जस्ता रोगको कारण निस्क्रिय जीवन शैली पनि हो । स्वस्थ समाजको निर्माणको लागि पनि साइकल संस्कृति विकास राम्रो मार्ग निर्देशन हो ।
नेपाल र साइकलको सम्भावना
भौगोलिक विविधताको देश नेपालको धेरै भाग हिमाली र पहाडी क्षेत्रले ओगटेको छ जुन दैनिक साइकल यात्राको लागि उपयुक्त छैनन् तर नेपालको तराई क्षेत्र पहिले देखि साइकल संस्कृति रहेको क्षेत्र हो । तर हामीले यसको प्रवर्धन गर्न कतै केहि लगानी गरेका छैनौ, न त गर्ने सोच बनाएका छौ । अहिले पनि पुर्व पश्चिम राजमार्गलाई सिमा नजिकका सहर संग जोड्न धेरै सडक परियोजना बन्दै छन् । साइकल यात्रीको उल्लेखीय संख्या हुदा हुदै पनि हामीले यी बाटोहरुमा आवश्यक साइकल पूर्वाधार समावेस गर्ने आवस्यकता देखेनौ । देख्छौं पनि कसरी जसले निर्णय गर्ने हो उसले साइकल पक्कै चलाउदैन होला ।
साइकल मैत्री काठमाण्डौ
काठमाण्डौ उपत्यका सम्पदा, संस्कृति र कलाले भरिएको साना वस्तीहरुको नमुना क्षेत्र हो । यी बाक्लो घनत्व भएको बस्ती भित्रका साना बाटो, गल्ली, चोक, ननीस्, बहाल यहि सम्पदा र संस्कृतिको अभिन्न अंग हुन् । यी साना बाटोहरुमा घुम्न, अनुभव गर्न, संरक्षण गर्न, सफा राख्न इन्धन युक्त गाडी न्युनिकरण गरि पैदल र साइकललाई प्राथमिकता दिई राम्रो उदाहरण दिनसक्छौ । हाल लण्डन, पेरिस, मेड्रिड, बार्सिलोना, बर्लिन, ऐडिनबर्ग जस्ता विकशित देशका सहरको भित्री क्षेत्रमा यो उदाहरण लागु भइ सकारात्मक परिणाम पाएको देख्न सक्छौ । स्वाभाविक रुपमा उपत्यकाका साना बाटोहरुमा बाईक र गाडी गुडाउदा सबैलाई असुविधा, असुरक्षा बाहेक अरु केहि निम्त्याउदैन । सहरलाई साइकल मैत्री बनाउनु भनेको सुरक्षित सहरको निर्माण गर्नु हो, सहरमा दुर्घटनाबाट हुने क्षति को न्यूनीकारण गर्नु हो ।
काठमाडौँमा साइकल संस्कृतिको विकास नभएको त होइन तर अझै यसलाई यातायातको माध्यमको रुपमा नभई वा त बाध्यता वा त मनोरन्जनको साधनको रुपमा लिइने पाइएको छ । काठमाडौँ जस्तो बाक्लो जनघनत्व भएको सम्पदा सहरमा सुरक्षित, स्वतन्त्रत र तनाब मुक्त भएर यात्रा गर्ने यातायातको उपयुक्त मध्यम साइकल हो भन्दा गलत हुन्न किनभने जहाँ हामी हिड्न सक्छौ त्यहाँ साइकल पनि लान सक्छौ । यसलाई सहरको साघुरो गल्लीले रोक्दैन, खुड्किलाले छेक्दैन, यसको आवस्यकता भनेको चालकको जगरिलोपन र इच्छाशक्ति हो । तर साथसाथै साइकल मैत्री पुर्बधार दिई उनीहरुलाई सम्मान दिन सके काठमाडौँ उपत्यकामा अन्य बिकशित सहरमा जस्तै साइकल संस्कृतिको विकास गर्न सकिन्छ जसले गर्दा हाम्रै समयमा जो कोहि पनि समाजमा लज्जित नभई दैनिक दिन चर्याको लागि साइकल चलाउन सक्नेछन् ।
नेपाल साइकल सोसाइटी
नेपालका सहरमा साइकल संस्कृति बिकासका लागि २०७५ साल आश्विनमा साइकल अभियन्ता रत्न राम श्रेष्ठको अधक्ष्यतामा ‘नेपाल साइकल सोसाइटी’को अधिकारिक रुपमा स्थापाना भएको हो । स्थापना देखिनै ‘नेपाल साइकल सोसाइटी’ साइकल मैत्री सहरको वकालतका लागि स्थानीय तह, विभागीय कार्यालय देखि लिएर केन्द्रीय स्तर सम्म समन्वय गर्दै आएको छ । पूर्णत आफ्नै सदस्य र सहयोगीहरुको श्रम र स्रोतमा संचालन भएको यो संस्थामा विविध विधाका विज्ञहरु प्रत्यक्ष र अप्रत्यक्ष रुपमा संग्लग्न भई विभिन्न कार्यक्रम तथा योजनाहरु गर्दै आएको छ । अहिले यो संस्था ललितपुर महानगरपालिका संग सहकार्य गरी यसलाई साइकल मैत्री बनाउन लागि रहेको छ । यसका लागि आवश्यक ठाउंमा साइकल स्ट्यान्ड, कुपण्डोल देखि मंगल बजारसम्म साइकल लेन, साइकल सिक्नका लागि साइकल पार्क जस्ता योजनालाई पूर्ण रुप दिन ललितपुर महानगरपालिका संग सहकार्य गर्दै आघि बढीरहेको छ ।
अन्त्यमा
अन्तत के बुझौ भनेको यस्तो समाजको निर्माण गरौ जसमा निजि साधन समृद्धिको सूचक नहोस्, सार्वजनिक यातायातमा यात्रा गर्नु, साइकल चलाउनु विपन्नताको प्रतिबिम्भ नहोस् । राम्रो, स्वस्थ र समावेसी सहर भनेको पैदल मैत्री, साइकल मैत्री र सुविधाजनक सार्वजनिक यातायात युक्त सहर हो । आशा गरौ हामीले हाम्रै पालमा समय र उर्जा भएको युवा पुस्ताले काठमाडौँका सडकमा साइकल चलाई बिद्यालय र कलेज गएको हेर्न पाउने छौँ, पर्यटकहरु उपत्यकाका ७ सम्पदा क्षेत्र र बस्तिहरु साइकलमा घुमेको हेर्न पाउने छौँ ।
Comments
Post a Comment